कोरोना भाइरसबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या १ सय ७५ पुग्यो

रामेछाप खबर संवाददाता

काठमाडौं, १० भदौ ।

नेपालमा गत २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमा २ महिला र ९ पुरुष गरी ११ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

७ वटा जिल्लाका २ महिला र ९ पुरुष गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। महोत्तरीमा मात्र तीन जना पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

मोरङकी ४६ वर्षीया र भक्तपुरकी ५३ वर्षीया महिलाको मृत्यु भएको छ। यस्तै, कैलालीका ४५ र ५० वर्षीय पुरुष, महोत्तरीका ६०, ७२ र ७५ वर्षीय पुरुष, बाराका ४१ र ३६ वर्षीय पुरुष, काठमाडौंका ५१ र बाँकेका ३७ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

नेपालमा मृत्युदर शून्य दशमलव ५ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

पछिल्लो २४ घन्टामा नेपालमा थप ८८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३४ हजार ४१८ जना पुगेको छ।

हालसम्म १९ हजार ५ सय ४ जना निको भएर घर फर्किएका छन्। हाल सक्रिय संक्रमितको संख्या १४ हजार ७ सय ३९ छ। पछिल्लो २४ घण्टामा ३८५ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ। यो सँगै निको भएर घर फर्कनेको संख्या १९ हजार ५ सय ४ पुगेको छ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।