होम आइसोलेसनमा कसरी बस्ने ?

रामेछाप खबर संवाददाता

काठमाडौँ, ९ भदौ ।
कोरोना संक्रमणको दर बढ्दै जाँदा बिरामीको संख्या पनि बढ्दै गएको छ । कोरोनाका बिरामी बढ्दै जाँदा बेड अभाव हुनेभन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई बेड संख्याको २० प्रतिशत कोरोनाका बिरामीलाई अनिवार्य रुपमा छुट्याउन निर्देशन दिइसकेको छ । संक्रमित बढ्दै जाँदा आइसोलेसनको पनि अभाव हुने देखिएको छ ।

विकल्पमा आईसीयू र भेन्टिलेटरमा राख्नुपर्ने संक्रमितलाई मात्रै अस्पातल भर्ना गर्ने र घरमै होम आइसोलेसनमा बस्नेबारेमा छलफल भइरहेको छ । जुन विकल्प धेरै संक्रमित भएका अमेरिका तथा युरोपका देशले अवलम्बन गरेका थिए । कोरोनाको संक्रमण, यसबाट बच्ने उपाय, माक्सको प्रयोग गर्ने तरिका, लकडाउन गर्दाका फाइदा र खोलेपछिको अवस्था तथा होम आइसोलेसनका बारेमा केही दिन अगाडि नेपाली कांग्रेसका नेता तथा संघीय सांसद गगन थापाले फेसबुक लाइभमा संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीसँग गरेको कुराकानीमध्ये होम आइसोलेसन कसरी बस्ने भन्ने अंश यहाँ प्रस्तुत गरिएको छ ।

होम आइसोलेसन मुख्य दुईवटा प्रयोजनका लागि गरिन्छ । पहिलो, आफूलाई संक्रमण भएको छ कि भनेर निगरानी गर्ने प्रक्रिया हो । दोस्रो, जनस्वास्थ्यको प्रयोजनका लागि । अर्थात आफूलाई कोरोना संक्रमण भएको छ भने अर्को व्यक्तिलाई नसरोस भन्नका लागि हो ।
होम आइसोलेसनमा बस्ने हो भने कोरोनाको लक्षण छ कि छैन ? लक्षण देखिएर बढ्दै पो गइरहेको छ कि छैन, सास फेर्न अफ्ठ्यारो भएको छ कि छैन यसमा ध्यान दिनुपर्छ । र समयसमयमा ज्वरो नापिरहनु पर्छ ।

अर्कोे महत्वपूर्ण पक्ष सरकारले आफ्नो स्वास्थ्य निर्देशिकामा पनि राखेको छ । त्यो हो अक्सिजन स्याचुरेसन । होम आइसोलेसनमा बसेको व्यक्तिले अक्सिजन स्याचुरेसन गर्न सक्नुपर्छ । औंलामा छिराउने सानो मेसिन हुन्छ, त्यसले रगतमा अक्सिजनको मात्रा कति छ पत्ता लगाइदिन्छ । यो मनिटर गर्नुपर्छ । यो काठमाडौंका औषधि पसलमा सहजै किन्न पाइन्छ । छरछिमेकमा अरुले प्रयोग गरेको छ भने पनि प्रयोग गर्न सकिन्छ । यो मनिटर दिनको दुईतीनपटक गर्नुपर्छ । केही समय राखेपछि यसले रगतमा कक्सिजनको मात्रा देखाउँछ ।

९४ वा त्योभन्दा माथि आयो भने नर्मल छ भन्ने बुझ्नुपर्छ । ९३ वा त्योभन्दा कम छ भने अक्सिजन कम भएको छ भन्ने थाहा पाउनुपर्छ । र अस्पताल गएर अक्सिजन लगाउनुपर्छ भन्ने बुझ्नुपर्छ ।
अरु रोग वा संक्रमण हुँदा विस्तारै सास फेर्न गाह्रो हुँदै जान्छ । अरु रोगमा सास फेर्न धेरै गाह्रो हुँदा मात्रै अक्सिजन कम हुन्छ । तर कोरोना संक्रमण हुँदा अक्सिजन घटिरहेको हुनसक्छ । तर संक्रमितलाई थाहा हुँदैन । अक्सिजन धेरै कम भइसकेपछि मात्रै थाहा हुने भएकाले क्सिजन कम भयो भनेर अस्पताल जाँदा कहिले काहीँ धेरै ढिलो भइसकेको हुनसक्छ ।

होम आइसोलेसनमा बसेको व्यक्तिले ज्वरो, अक्सिजन स्याचुरेसन र लक्षण आफ्ना लागि मनिटर गरिरहनुपर्छ ।
जनस्वास्थ्यको पाटोमा आइसोलेसनमा एकजना मात्रै हुनुपर्छ । अर्को व्यक्ति उक्त कोठामा आउनु हुँदैन । सकेसम्म हावा पास हुने झ्याल भएको कोठा हुनुपर्छ । भ्यान्टिलेसन भएको कोठामा आइसोलेसन बनाउनुपर्छ । यदि आइसोलेसनमा बसेको व्यक्तिलाई भेट्न अर्को व्यक्ति आउँछ भने दुवैजनाले माक्स प्रयोग गर्नुपर्छ । मुख धुने ठाउँ र सौचालय सिंगल प्रयोग गर्ने व्यवस्था हुनुपर्छ । अर्को व्यक्तिले पनि प्रयोग गर्नै पर्ने वाद्यात्मक अवस्था छ भने एकैपटक प्रयोग गर्नु हुँदैन । माक्स लगाएर मात्रै सौचालय जार्नुपर्छ ।

बजारमा किटाणुनासक औषधि पाइन्छ, सौचालय प्रयोग गरिसकेपछि त्यसले सौचालय र धारामा स्प्रे गर्नुपर्छ । जसले गर्दा किटाणु मर्छन् र अर्को व्यक्तिलाई सर्ने सम्भावना कम हुन्छ । यसो गरेको खण्डमा अर्को व्यक्तिलाई सर्ने सम्भावना कम हुन्छ । होम आइसोलेसन निकै जटिल छ । त्यसैले हाम्रो जस्तो संयुक्त परिवारमा बस्ने समाजमा यो कठिन छ । वास्तवमा होम आइसोलेसन नेपालीका होइन । जसको घरमा सिंगल वाथरुम छ त्यसमा चाहिँ सम्भव छ ।

कोरोनाका विरामीमा अक्सिजन कम भएको निकै पछि मात्रै थाहा हुने भएकाले होम आइसोलेसन अस्पताल नजिकै हुनुपर्छ । हिमाली भेग र दुर्गम पहाडी क्षेत्र जहाँ अस्पताल टाढा हुन्छ त्यहाँ होम आइसोलेसन र संस्थागत आइसोलेसन बनाउन र बस्न मिल्दैन । होम आइसोलेसन ठूलो अस्पतालको नजिक हुनुपर्छ । कम्तिमा आधा घण्टामा अस्पताल पुग्ने ठाउँमा मात्रै आइसोलेसन बनाउनु पर्छ ।साभार: बाह्रखरी

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।