सुन प्रतितोला १ हजार ६ सय र चाँदी २० रुपैयाँले घट्यो

रामेछाप खबर संवाददाता

काठमाडौं, ४ भदौ ।

सुनको मूल्यमा पुन: गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाल सुनको मूल्य तोलाको ९८ हजार ८ सय रुपैयाँ तोकेको छ । मंगलबार र बुधबार तोलाको १ लाख ४ सय रुपैयाँ कायम रहेको सुनको मूल्यमा १ हजार ६ सय रुपैयाँले घटेको हो ।
यस्तै तेजाबी सुनको मूल्य पनि घटेर तोलाको ९८ हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

चाँदीको भाउमा पनि तोलामा २० रुपैयाँले गिरावट आएको छ । महासंघले बिहीबारका लागि चाँदीको मूल्य तोलाको १ हजार ३ सय ६० रुपैयाँ कायम गरेको छ । बुधबार तोलाको १ हजार ३ सय ८० रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउमा उतारचढाव आएसँगै त्यसको असर स्थानीय बजारमा पनि परेको छ । महासंघले अन्तर्राष्ट्रिय मूल्य अनुसारै स्थानीय मूल्यमा सुनको मूल्य निर्धारण गर्दै आएको छ ।