सुनको मुल्यमा भारी गिरावट, यस्तो छ कारण

रामेछाप खबर संवाददाता

काठमाडौँ , २८ साउन ।

निरन्तर उकालो लागिरहेको सुनको मूल्यमा यो हप्ता ब्रेक लागेको छ। १ लाख ५० हजार पुग्ने अनुमान गरिएको छापावाल सुनको मूल्य बुधबार ६ हजार २ सय रुपैयाँले घटेर ९५ हजार ४ सयमा झरेको छ। सुनको मूल्य निरन्तर बढेर प्रतितोला १ लाख माथि पुग्नुमा कोभिड–१९ र विश्वव्यापी प्रभाव थियो।

रुसले कोभिड–१९ को भ्याक्सिन पत्ता लगाएको दावी गरेलगत्तै मूल्य घटेको जानकारहरूले बताएका छन्। बजारमा सुनको मूल्य बढ्दै जाँदा अधिकतम मूल्य १ लाख ३ हजार ५ सयसम्म पुगेको थियो, अधिक मूल्यका कारण यसको व्यापार नहुने अवस्था समेत सिर्जना भएको थियो। तर,कोभिड १९ को बढेको सुनको मूल्य भ्याक्सिन परीक्षण सफल भएको रुसको दावीसँगै ह्वात्तै घट्न पुगेको छ। ‘सुनको बढ्दो मूल्यमा अब ब्रेक लागेको छ’ सुनचाँदी व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले भने ।

मंगलबारमात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा कोरोना भाइरसविरुद्ध विश्वको पहिलो भ्याक्सिन दर्ता भएको घोषणा गरेका थिए। पुटिनले उक्त भ्याक्सिन आफ्नो छोरीलाई लगाइसकेको पनि जानकारी दिएका थिए।सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने, रुसी राष्ट्रपति पुटिनको यो घोषणाले सुनको मूल्य घट्नमा भूमिका खेलेको छ ।