आज बल्ल घट्यो सुनको भाउ

रामेछाप खबर संवाददाता

काठमाडौं, २५ साउन ।

लगातार बढेको सुनको मूल्य आइतबार भने तोलामा ९ सय रुपैयाँ घटेको छ ।

सुनको मूल्य आइतबार तोलाको एक लाख दुई हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अन्तर्राष्टिय बजारमा आइतबार १८ डलरले मूल्य घटेपछि नेपालमा पनि केही सस्तो भएको महासङ्घ अन्तर्गतको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिएका छन् ।

गएको शुक्रबार सुनको मूल्य अहिलेसम्मकै महँगो तोलाको १ लाख ३ हजार ५ रुपैयाँ पुगेको थियो ।

यस्तै आइतबार सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने बढेको छ । चाँदी आइतबार तोलामा ५ रुपैयाँ बढेर तोलाको १४ सय १० रुपैयाँ पुगेको छ ।

नेपाली सेनाले भारतबाट औषधि नल्याउने

नेपाली सेना मार्फत खरिद गर्ने भनिएका ५३ प्रकारका औषधि अब खरिद नगरिने भएको छ ।

भारतबाट सहज रूपमा औषधि आउन थालेको र खरिद प्रक्रिया अगाडि बढ्न नसकेपछि भारतसँग औषधि खरिद प्रक्रिया नै बन्द भएको छ ।

कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचारमा आवश्यक पर्ने दुई करोड २५ लाख रुपियाँको औषधि भारतसँग खरिद गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको थियो ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले खरिद प्रक्रिया अगाडि बढ्न नसकेको तर कोरोना नियन्त्रण तथा उपचार गर्न आवश्यक पर्न सक्ने औषधि लगायतका स्वास्थ्य सामग्रीको सहज आपूर्ति हुन थालेपछि भारतसँग औषधि खरिद प्रक्रिया बन्द भएको जानकारी दिए ।

उनले अहिले भारत सँगको औषधि खरिद प्रक्रिया टुङ्गिएको भन्नुपर्छ । फेरि आवश्यक परेको अवस्थामा फेरि प्रक्रिया अगाडि बढाउने छौँ । अहिलेलाई आवश्यकता देखिएन र अलिकति भुक्तानीको समेत समस्या आएको हुनाले अहिले यो प्रक्रिया नै बन्द गरिएको छ भने । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।