पुनः दुई हप्ता लकडाउन गर्न सरकारलाई सुझाव, प्रधानमन्त्री सकारात्मक

रामेछाप खबर संवाददाता

काठमाडौं, २० साउन ।

प्रधानमन्त्रीसँगको छलफलमा विज्ञहरूले कोरोना संक्रमण बढ्दै गएको भन्दै पुनः लकडाउन गर्न सुझाव दिएका छन्।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरूले कम्तीमा २ साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले बताए।

‘यही अवस्थामा अघि बढ्दा कोरोना थप भयावह हुन सक्ने विज्ञहरुले चिन्ता व्यक्त गर्नुभयो । उहाँहरूले छिट्टै कम्तीमा पनि २ साता लकडाउन घोषणा गरेर त्यो बीचमा नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सरकारलाई सुझाव दिनुभयो’, बैठकमा आफ्नो धारणा राखेर बाहिरिएका ठाकुरले बताए।

विज्ञहरुले २ साता लकडाउन गर्न दिएको सुझावलाई प्रधानमन्त्रीले सकारात्मक रुपमा लिएको आफूले पाएको भन्दै यसबारे थप छलफल गरेर आफू टुंगोमा पुग्ने बताएको ठाकुरले बताए।

नेकपा (माओवादी) पार्टीको घोषणा

पूर्वमाओवादी केन्द्रका सचिवालय सदस्य जुनेल जिसीको नेतृत्वमा ३१ सदस्यीय नेकपा (माओवादी) पार्टी केन्द्रीय कमिटी निर्माणको घोषणा भएको छ । रफत सञ्चार क्लब भक्तपुरमा आज पत्रकार सम्मेलनको आयोजना गरी जनयुद्ध र जनभावनाको मुद्दा सत्तारुढ दल नेकपाले बोक्न नसकेको भन्दै नेकपा माओवादी पुनर्गठन भएको घोषणा गरिएको हो ।

पुष्पकमल दाहालको नेतृत्वमा जनयुद्धदेखि नै नेकपा माओवादी, माओवादी केन्द्र हुँदै नेकपामा आइपुग्दा पनि पार्टी सत्ताको वरिपरि मात्रै घुमेको, देशको समृद्धि, विकास, राजनीतिक निकास नेकपाबाट नहुने आरोप लगाउँदै उनले तत्कालीन नेकपा (माओवादी) मा रहेर काम गरेका नेता तथा कार्यकर्ता सङ्गठित भई पुरानो पार्टीलाई ब्युझाउनु परेको भनाइ राखे ।

पत्रकार सम्मेलनमा नवगठित नेकपा माओवादीका उपाध्यक्ष एवं प्रवक्ता डेनिस सिंहले आर्थिक सामाजिक रुपान्तरण र सर्वाहारा वर्गको मागलाई नेकपाले उपेक्षा गरेपछि आफूहरुले नेकपा (माओवादी) घोषणा गर्न बाध्य भएको बताए ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।