आजदेखी नेपाल लकडाउन मुक्त

रामेछाप खबर संवाददाता

काठमाण्डौँ, ७ साउन ।

कोरोना संक्रमण समुदायमा फैलन सक्ने उच्च जोखिम रहेकै वेला सरकारले लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ । उच्च सतर्कता नअपनाए अब घनाबस्ती भएको उपत्यकालगायतका ठाउँमा संक्रमण छिट्टै फैलने चि न्ता स्वास्थ्यविज्ञहरूले गरेका छ ।

मन्त्रिपरिषद्को मंगलबारको निर्णयले ११ चैतदेखि लागू गरिएको लकडाउन ६ साउनको राति १२ बजेदेखि अन्त्य भएको छ । सवारीसाधनको जोर–बिजोर प्रणाली हटाउने र सरकारी कार्यालयहरू सामान्य अवस्थामा जस्तै सञ्चालन गर्ने सरकारको निर्णय छ । १५ साउनदेखि होटेल, ट्रेकिङ, ट्राभल र पर्वतारोहरण व्यवसाय पनि सञ्चालन गरिनेछन् । त्यस्तै, स्वास्थ्य मापदण्ड पालना गरी १ भदौदेखि लामो दूरीका सार्वजनिक यातायात तथा हवाई सेवा सुरु गरिनेछ ।

सरकारले १ भदौदेखि भर्ना र रोकिएका परीक्षा सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ । तर, स्कुल–कलेजमा पठनपाठन भने तत्काल हुनेछैन । त्यसबारे पछि निर्णय हुने सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।

लकडाउन खुलाइए पनि शैक्षिक संस्थाहरू, सिनेमा हल, पार्टी प्यालेस, डान्स बार तथा मनोरञ्जनका क्षेत्र, सैलुन–ब्युटिपार्लर तथा स्पा, स्विमिङ पुल, हेल्थ क्लब, समूहमा खेलिने खेलकुद, सभा/भेला, धार्मिक क्षेत्र, पुस्तकालय, संग्रहालय तथा चिडियाखाना, अन्तर्राष्ट्रिय नाका भने बन्द नै रहने छन् ।
जोखिमका बाबजुद आर्थिक क्षेत्रलाई चलायमान बनाउन भन्दै सरकारले लकडाउन खुलाउने निर्णय गरेको हो ।

पुरा भिडियो हेर्नुहोस्

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।