घट्यो सुनको मूल्य, आज कतिमा कारोबार हुँदैछ ?

रामेछाप खबर संवाददाता

काठमाडौं, १ साउन ।

बिहीबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ ।

प्रतितोला एक सय रूपैयाँले घटेर बिहीबार ९२ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाला सुन प्रतितोला ९२ हजार ८ सयमा कारोबार भइ रेकर्ड बनाएको थियो । त्यसैगरी बिहीबार तेजावी सुन प्रतितोला ९२ हजार दुई सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी प्रतितोला एक हजार पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

अध्यक्षद्वय र नेपालबीच भेटवार्ता

सत्तारुढ नेकपाका शीर्ष तीन नेता बालुवाटारमा वार्तामा जुटेका छन् ।

छ दिनको संवादहिनता तोडेर लगातार दुई दिन छलफल गरेका ओली दाहालको वार्ताले निकास नदिएपछि अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपालबीच वार्ता भइरहेको छ ।

अध्यक्षद्वय एक्लाएक्लै धेरैपटक छलफलमा बसे पनि सहमति नजुटेपछि बिहान साढे ११ बजेदेखि सुरू भएको वार्तामा माधव नेपाल पनि सहभागी भएको अध्यक्षद्वयका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिएका छन् ।

खासगरी एक व्यक्ति एक पदको विषय उठाउँदै आएका माधव कुमार नेपाललाई नै राखेर पार्टीभित्रको शक्ति सन्तुलन गर्नुपर्ने देखिएपछि उनलाई पनि बैठकमा सहभागी गराएको बताइएको छ ।

असार १० गतेबाट सुरू भएको नेकपा स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग राखेपछि पार्टी फुटको संघारमा पुगेको थियो ।

त्यसै कारण स्थायी कमिटी बैठक साउन २ गतेसम्मका लागि स्थगित गरिएको छ । तर, यो बीचमा चिनियाँ राजदूतको सक्रियता एवं नेकपाकै दोस्रो तथा तेस्रो तहका नेताहरूको लबिङ र दबाबले पार्टी विभाजन टरेको र छलफलबाटै समस्याको हल खोज्न शीर्ष नेताहरू क्रियाशिल भएको बताइँदै आएको छ ।

यद्यपि पार्टी र सरकारको शक्ति बाँटफाँटमा नेताहरूबीच कुरा नमिल्दा सहमति जुट्न सकेको छैन । जारी छलफलमा ओलीले आफूले दुबै पद नछाड्ने अडान दोहोर्‍याएका छन् भने दाहालले कम्तिमा एउटा पद छाडेर सहमतिमा आउन आग्रह गर्दै आएका छन् ।

तर, प्रधानमन्त्री ओलीले दुवै पद नछाड्ने तर २०७६ मंसिर ४ को सहमतिअनुसार अघि बढ्न सकिने जवाफ दिदै आएको बताइन्छ । मंसिर ४ को सहमतिमा ओलीले पाँच वर्ष सरकार चलाउने र दाहालले कार्यकारी हैसियतमा पार्टी चलाउने उल्लेख छ ।

मंसिर ४ को यो सहमति ओलीकै कारण कार्यान्वयन नभएको भन्दै दाहालले २०७५ जेठ २ को सहमतिअनुसार अघि बढ्नुपर्ने अडान लिएका छन् ।

त्यसमा पनि सहमति नभए असन्तुष्ट पक्षलाई पनि मिलाउने गरी नयाँ लिखित सहमति गर्नुपर्ने माग दाहालले राखेको बुझिएको छ तर, त्यसमा पनि ओली सहमत हुन सकेका छैनन् ।