मेलम्ची खानेपानी आयोजनाको अस्थायी ड्याम फुट्दा २ बेपत्ता, २ जना घाइते

रामेछाप खबर संवाददाता

मेलम्ची, ३० असार ।

आज दिउँसो १२ः३० बजे पानी भरिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङको ढोका फुट्दा पानीले बगाएर त्यहाँ कार्यरत अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापामगर र अन्दाजी २५ वर्षीय इञ्जिनीयर सतिश गोहित बेपत्ता भएको त्यहाँ कार्यरत कर्मचारी युवराज गिरीले जानकारी दिएका छन् ।

त्यस्तै कन्सल्ट्यान्ट दोर्जे पेम्बा र इञ्जिनीयर शेखर खनाल घाइते भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए । घाइतेलाई हेलिकप्टरमार्फत काठमाडाैं लगिएको तामाङले जानकारी दिए ।

बेपत्ताको हेलम्बु प्रहरी र त्यहाँको सेनाले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । ढोका फुटेपछि आएको बाढीले बा१झ ८७६४ नं. को हाइलक्स गाडीसमेत बगाएको छ । मेलम्ची खानेपानी आयोजनाले एक साता पहिलेदेखि सुरुङ परीक्षण गरिरहेको छ । रासस

पुरा भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।