भारतको मुम्बईबाट आएका १९ महिने शिशुमा कोरोना पुष्टि , आमाबुवामालाई देखिएन कोरोना !

रामेछाप खबर संवाददाता

पोखरा, ६ असार ।

भारतको मुम्बईबाट आएका युवालाई वडाले क्वारेन्टाइनमा राख्यो। बाहिरबाट आएको हुँदा उनको स्वाब लिएर कोरोना भाइरस परीक्षण पनि भयो। २१ गते आएका उनलाई सोही दिन घर परिवारले खाना क्वारेन्टाइनमै पुर्‍याएका थिए। तर नजिक परेनन्। छुँदा पनि छोएनन्। तै पनि शंका गरी ती युवा, उनकी श्रीमती र १९ महिने बच्चाको कोरोना परीक्षणका लागि स्वाब लिइयो। श्रीमान् श्रीमतीमा कोरोना नभएको रिपोर्ट निस्कियो। तर १९ महिने शिशुमा भने कोरोना पुष्टि भयो।

कास्कीको मादी गाउँपालिका वडा नम्बर ९ की ती शिशुको स्वास्थ्य अवस्था सामान्य नै छ। ‘हामी नै अचम्ममा परेका छौं’, वडाध्यक्ष तोरण गुरुङले भने। एक साताअघि लिइएको स्वाबको नतिजा शनिबार सार्वजनिक भएको थियो। कोरोना पुष्टि भएको हुँदा शिशुलाई आमासहित पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइँदै छ। कोरोना पुष्टि भएका सोही वडाका अर्का पुरुषलाई पनि पोखरा लगिएको जानकारी वडाध्यक्ष गुरुङले दिए।

शिशुका बाबुलाई भने अझै पनि वडाको क्वारेन्टाइनमा छुट्टै राखिएको छ। कोरोना पुष्टि भएका अर्का पुरुष पनि भारतबाटै आएका हुन्। कोरोना पुष्टि भएकी शिशुको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको वडाध्यक्ष गुरुङले सुनाए। उनले भने, ‘त्यस्तो कुनै लक्षण छैन, बच्चा फिट एन्ड फाइन छ।’ वडाध्यक्ष गुरुङका अनुसार बाबु विदेशबाट आए पनि शिशुकी आमा र परिवारका अरु सदस्यको सम्पर्कमा आएका हुनसक्ने सम्भावितको पनि गाउँपालिकाले खोजी गरेको छ।

मादी गाउँपालिकाका सबै १२ वडामा क्वारेन्टाइन छन्। तिनमा झन्डै १ सयजनालाई राखिएको छ। मादीका ती शिशु, अर्का पुरुष गरी गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना भाइरसो रोग कोभिड १९ पुष्टि भएका बिरामीको संख्या ४ सय ३८ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। मुस्ताङबाहेक बाँकी १० जिल्लामा कोरोना संक्रमित छन्।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।