आज कतिले बढ्यो सुनको भाउ

रामेछाप खबर संवाददाता

असार २, न्यूयोर्क (अमेरिका) ।

मंगलवार बहुमूल्य धातु सुनको भाउ बढेको छ । सुनसँग विपरित सह-सम्बन्ध रहेको अमेरिकी डलर कमजोर बनेसँगै सुनको भाउले टेवा पाएको हो ।

अमेरिकी केन्द्रीय बैंकले अर्थतन्त्रलाई पुनः ब्यूत्याउँन कर्पोरेट ऋणपत्र खरीदसम्बन्धी विस्तृत योजनाको घोषणा गरेकोले पनि सुनको भाउ बढेको हो ।

बिहानी कारोबारमा न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको भाउ शून्य दशमलव ३ प्रतिशतले बढेर प्रतिऔंस १ हजार ७२९ डलर शून्य ५ सेन्टमा उक्लिएको थियो । सोमवार भने फेडको घोषणा अघि सुनको भाउ १ प्रतिशतभन्दा धेरैले बढेको थियो ।

यूएस गोल्ड फयूचर्सको भाउ पनि शून्य दशमलव ६ प्रतिशतले बढेर १ हजार ७३७ डलरमा उक्लिएको थियो । ‘फेडले मात्रै होइन अन्य केन्द्रीय बैंकहरुले पनि तरलतामा व्यापक वृद्धि गरेका छन्, यसले बजारमा निकै धेरै रकम प्वाह भइरहेको छ र यसले सुनको भाउलाई टेवा दिइरहेको छ,’ कमर्जबैंकका विश्लेषक ड्यानिएल ब्रेइसेम्यानले भने ।

केन्द्रीय बैंकहरुको व्यापक तरलता प्रवाहका कारण वर्षको उत्तराद्र्धमा सुनको भाउ बढेर १ हजार ८०० तिर जाने उनको भनाइ छ । अर्थतन्त्रमा १ हजार १०० खर्ब येन (१० खर्ब अमेरिकी डलर) प्रवाह गर्ने अपेक्षा गरिएको जापानी केन्द्रीय बैंक ‘बैंक अफ जापान’ (बीओजे)ले बताएको छ ।

पछिल्लो समय विश्वभर कोरोना संक्रमितको संख्या ८० लाख नाघेको छ । संक्रमण बढ्नुको अर्थ आर्थिक कमजोरी हो । यस्तोमा अर्थतन्त्रलाई टेवा दिन थप आर्थिक (वित्तीय र मौद्रिक) टेवा चाहिने र यी सबैले सुनको भाउलाई टेवा दिने नेशनल अष्ट्रेलिया बैंकका अर्थशास्त्री जोन शर्माले बताए । एजेन्सी

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।