‘पाँच हजार ऋण काढेर काठमाडौं आएको छु, उखुको पैसा नलिई जान्न !

रामेछाप खबर संवाददाता

काठमाडौँ १४, पुस ।

काठमाडौंको माइतीघर मण्डलामा हिजोआज उखु किसानको भीड देखिन थालेको छ। त्यो भीडमा देखिएका कतिपय किसान पहिलो पटक काठमाडौं आएका छन्। उनीहरू न घुम्न आएका हुन्, न त रमाइलो गर्न नै।

उधारोमा बेचिएको उखुको वर्षौंदेखि भुक्तानी नभएपछि बाध्य भएर किसानले मण्डलामा विरोध गरेका छन्।‘उखुको भुक्तानी तुरून्त गर!,’ लेखिएको पर्चा छातीमा टाँसेर किसान मण्डलामा भेला भएका छन्।

उनीहरूको माग धेरै छैन। मात्रै उधारोमा बेचिएको उखुको भुक्तानी होस् र अब बेच्ने उखुको मूल्य सन्तुलित होस् भन्ने छ। यही माग लिएर ती किसान १० दिनदेखि काठमाडौंमा छन्।

सर्लाहीका किसानले अन्नपुर्ण सुगर मिल्समा उखु बेच्ने गरेका छन्। सो उद्योगका मालिक हुन्– राकेश अग्रवाल। उनीहरू काठमाडौं आउनेबित्तिकै पहिले मिल मालिक राकेश अग्रवालको घरमा गए। घरमा कसैलाई भेट नभएपछि कार्यालय पुगेको किसान सङ्घर्ष समितिका सचिव हरिश्याम राय यादव बताउँछन्।

‘कार्यालयमा पनि मालिकसँग भेट भएन, त्यहाँका कर्मचारीलाई फोन गर्न लगायौं। उनले मिल्दैन भनेपछि हामी यहाँ माइतिघरमा भेला भयौं,’ उनले भने।
किसानको खाने बस्ने ठेगान छैन। छरिएर आफन्तीकोमा बस्छन्। बिहान ११ बजे भने माइतीघरमा भेला हुनु जागिरमा खटिएको कर्मचारीको ‘डुयुटी’ जस्तै भएको छ।

‘केही दिन साथीभाइकोमा बसें, अहिले कवाडमा बसेको छु। आजदेखि भने यहीँ बस्नु पर्ला,’ ६० वर्षे सीताराम महताेले मण्डलातिर देखाउँदै भने, ‘गाडी चढेर आउने पैसा छैन, दैनिक हिँड्दा खुट्टा दुखिसक्यो।’

उनी भाइसँग सतुङ्गलमा कवाडमा बस्छन्। उनी पहिलो पटक काठमाडौं आएका हुन्। उनको घर सर्लाही, सिसौडी हो। उनले अरुको जग्गा भाडामा लिएर १५ कठ्ठा जमिनमा उखु लगाएका छन्। त्यही पेशाबाट ८ जनाको परिवार पाल्छन्।

मिल मालिकले दुई आर्थिक वर्ष २०७४/०७५ र ०७५/७६ मा उखु बेचेको पैसा नदिएपछि काठमाडौं आएको उनी बताउँछन्। उनले दुई वर्षको गरेर ५० हजार बढी लिन बाँकी छ।

थोरै पैसा भए पनि समयमा नपाउँदा साहुको ऋण र नातिनातिनाको ट्युशनको फी तिर्न नसकेको उनी बताउँछन्। काठमाडौं आउँदा गाउँका धनीसँग ५ हजार ऋण काढेर आएको बताउने उनी पैसा नपाउन्जेल यही बस्ने भन्छन्।

‘न आफूले पढ्न पाइयो, न छोराछोरीलाई पढाउन सकियो। नातिनातिलाई पढाउन मन छ,’ उनले भने। उद्योगीसँग पैसा लिइसकेपछि साहुको ऋण र नातिनातिनाको ट्युशनको फी तिर्ने उनको धोको छ।

भीडमा भेटिए रामविलास महतो। उनी उमेरले ६० वर्ष भए। उनको घर पनि सर्लाही, सिसौडीया नै हो। उनले ०७३, ७४, र ७५ गरी तीन वर्षको ३ लाख पैसा चिनी उद्योगसँग लिन बाँकी छ।

उनले आफ्नो १५ कठ्ठा र साहुको १५ कठ्ठा गरेर ३० कठ्ठामा उखु लगाएका छन्। त्यही पेशाबाट ११ जनाको परिवार पाल्छन्। उद्योगीले पैसा नदिएसम्म घर नजाने उनी बताउँछन्।

स्रोत– सेतोपाटी बाट