काठमाडौं, २२ मंसिर ।
खाँदबारी नगरपालिकाले नगरभित्रका बाँदर नियन्त्रण गर्न बजेट विनियोजन गरेको छ । नगरपालिकाका सबैजसो वडामा बाँदरको बिगबिगी बढेपछि त्यसलाई नियन्त्रण गर्न नगरसभामार्फत नै बजेट विनियोजन गरिएको हो ।
नगरपालिकाको नगरसभाले बाँदर नियन्त्रण कार्यको अध्ययन शीर्षकमा दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको हो । बाँदरले आतङ्क मच्चाएपछि बजेट छुट्याएर नियन्त्रणका लागि अध्ययन गरिने नगरपालिकाले जनाएको छ । बाँदरले नगरपालिकाका वडा नं। १, २, ३, ४, ५, ८, ९ र ११ मा बढी आतङ्क मच्चाएको छ । बाँदरले अन्नबालीमा कलिलो अवस्थामै क्षति पु¥याउने गरेको खाँदबारी–८ का वडाध्यक्ष डम्बर कटुवालले बताए ।
वस्ती वरिपरि जङ्गल बढेकाले पनि बाँदर आतङ्क बढेको होे । बर्खाको समयमा मकै सखाप पार्छ भने हिउँदको समयमा धान, सुन्तला, फलफूल, तरकारी, अलैँची र अम्लिसो टुसा नै च्यातेर तहसनहस पार्छ । वर्ष दिन पुग्ने मकै बाँदरले छिनभरमै तहसनहस पारिदिन्छ । बाँदरसँगै दुम्सी तथा अन्य वन्यजन्तु र पक्षीले पनि किसानको बाली खाइदिने गरेका छन् । स्थानीयले पटक–पटक बाँदर नियन्त्रणका लागि आग्रह गरेपछि दिगो समाधान खोज्न चालू आवमा बजेट विनियोजन गरिएको खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कोमलप्रसाद धमलाले बताए ।
प्रदूषण न्यूनीकरणका लागि फोहर जलाउन मिल्ने डस्टबिन
बढ्दो वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न फिदिम नगरपालिका–४ स्थित हेंवाघाटमा फोहर जलाउन मिल्ने डस्टबिन राखिएको छ । ग्रिन इन्टरनेशनल क्लब पाँचथरले रु ६८ हजारको लागतमा उक्त डस्टबिन राखेको हो । बढ्दो जनसङ्ख्याका कारण हेंवाघाटमा शवदहन गर्ने सङ्ख्या बढिरहेको छ । जलाउन मिल्ने फोहरसमेत जथाभावी फाल्ने तथा खोलामा हाल्ने गर्नाले प्रदूषण बढेको पाइएपछि फोहर जलाउन मिल्ने फलामको डस्टबिनको व्यवस्था गरिएको क्लबका मिलन विश्वकर्माले जानकारी दिए ।
हेंवाघाट र घाट नजिकै खाजा बाँड्ने स्थानमा एक÷एक डस्टबिन तथा सूचनापाटी स्थापना गरिएको छ । शनिबार आयोजित कार्यक्रममा क्लबले यी सामग्री फिदिम नगरपालिका–४ का वडाध्यक्ष प्रकाश गुरुङलाई हस्तान्तरण गरेको छ ।
हस्तान्तरण कार्यक्रममा प्रदेश नं १ को उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति सीता थेबेले युवाहरुले रूपान्तरण र सुधारका लागि नवीन सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिए । क्लबले पाँचथरमा स्थानीयस्तरका समस्या समाधान, मानवीय सहयोग तथा जागरणका काम गरिरहेको पाइएको भन्दै सभापति थेबेले खुशी व्यक्त गरे ।
गत दीपावलीमा देउसीभैलो खेलेर सङ्कलित रकमबाट उक्त डस्टबिनको प्रबन्ध मिलाइएको क्लबका अध्यक्ष सूर्य आङ्देम्बेको भनाइ छ । यो क्लबले पाँचथरमा ‘जीवित रगत बैंक’ स्थापना गर्न लागेको जनाएको छ । हेंवाघाटमा सरकारी लगानीबिना नै यहाँ नागरिक तथा जातीय सङ्घसंस्थाले पूर्वाधार निर्माणका काम गर्दै आएका छन् । घाटमा पूर्वाधार निर्माणमा सक्रिय हेटनारायण श्रेष्ठका अनुसार यहाँ शव जलाउने घाट नेवाः दयदबु पाँचथरले निर्माण गरेको छ भने मलामी बस्ने चौतारो नेपाल मगर सङ्घ पाँचथरले निर्माण गरेको छ । समाजसेवी मित्रप्रसाद काफ्लेले यहाँ स्वच्छ खानेपानीको प्रबन्ध मिलाउनुभएको छ । दैनिक प्रयोग हुने घाटमा पूर्वाधार निर्माण गर्न तीनै तहका सरकारले उचित ध्यान दिनुपर्ने सरोकारवालाको माग छ ।