काठमाडौं, १९ मंसिर ।
१३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तरगतको पुरुष क्रिकेटमा बिहिबार भएको खेलमा प्रतिद्धन्दी भुटानमाथि १ सय ४१ रनको अन्तरसहित शानदार विजय निकालेको छ ।
त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा ३ विकेट गुमाउँदै २ सय ३६ रनको योगफल बनाएको थियो ।
बिहिबारको खेलमा कप्तान ज्ञानेन्द्र मल्लले शतकीय पारि खेले । टी २० मा पहिलो शतक बनाएका मल्ल कप्तानको रुपमा नेपालका लागि शतक बनाउने दोस्रो खेलाडी पनि बनेका छन् । यसअघि पारस खड्काले टी २० मा शतक बनाएका थिए ।
भुटानसंगको खेलमा वर्तमान कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व कप्तान पारसको जोडी खुब जम्यो । उनीहरुले पहिलो विकेटका लागि १सय ८ रनको साझेदारी गरे । पारस अर्धशतकीय पारि खेल्दै बाहिदा उनले २८ बलमा ९ चौका र १ छक्का सहित पारस ५७ रनमा आउट भए । तेस्रो नम्बरमा आएका रोहितकुमार पौडेल मात्र ६ रनमा आउट भए ।
त्यसपछि कप्तान मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले ८० रनको साझेदारी गरे । ५३ बलमा शतक पूरा गरेका कप्तान मल्ल थप २ बल सामना गरेर १ सय ७ रनमा आउट भएका थिए ।५५ बलको सामना गरेका उनले पाँच चौका र ९ छक्का हाने । अन्तर्राष्ट्रिय टी २० मा यो उनको पहिलो शतक हो ।उनले टी २० मा हालसम्मकै सर्वाधिक रन १ सय ७ रन बनाएर नयाँ कीर्तिमान पनि राखे । टी २० मा शतक पार गरेको कीर्तिमान पूर्वकप्तान पारस खड्काले कायम गरेका थिए।
यस्तै उप कप्तान दीपेन्द्रसिंह ऐरी ४५ रनमा नट आउट रहँदा आरिफ शेख पनि ४ रनमा अविजित रहे ।
नेपाललाई रोक्ने क्रममा भुटानका कर्मा दोर्जीले २ तथा तोब्दे सिंगेले १ विकेट लिए ।
२ सय ३७ रनको लक्ष्य पाएको भुटानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो ।
भुटानका ३ खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा रनजुङ दोर्जीले २७ रन बनाए भने सोनम टोग्बेले १५ र टोब्डेन सिंगेले ११ रनको योगदान गरे ।
भुटानलाई रोक्ने क्रममा नेपालका पारस खड्काले २ विकेट लिए भने करण केसी, ललितनारायण राजवंशी र पवन शर्राफले एकएक विकेट लिए ।
आजको खेलमा तीन वटा रेकर्ड बनेका छन् । कप्तान मल्लको पहिलो शतक हो भने नेपालले पहिलो विकेटका लागि गरेको सर्वाधिक ठूलो साझेदारी पनि हो । यस्तै नेपालले सर्वाधिक धेरै रनको रुपमा रेकर्ड बनाएको छ ।