अन्तिम समयमा गोल खाएपछि श्रीलंकासँग १/१ गोलको बराबरीमा रोकियो नेपाल

रामेछाप खबर संवाददाता

काठमाडौं, मंसिर १८ ।

१३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् पुरुष फुटबलको समीकरण रोमान्चक बन्दै गएको छ । नेपालले आफ्नो दोस्रो खेलमा श्रीलंकासित बराबरी खेलेपछि समीकरण रोमान्चक बनेको हो । बुधबार दशरथ रंगशालामा भएको खेलमा नेपालले श्रीलंकासित १–१ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको हो ।

अन्तिम समयमा सम्हालिन नसक्दा नेपालले २ अंक गुमाउन पुग्यो । ‘इन्जुरी’ समयमा श्रीलंकाका मोहम्मद आकिबले ‘फ्रिकिक’मा उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् । त्यसअघि, खेलको ३७औं मिनेटमा कप्तान सुजल श्रेष्ठले पेनाल्टीमार्फत् गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

यसअघिको पहिलो खेलमा नेपालले भुटानमाथि ४–० को फराकिलो जित हासिल गरेको थियो । श्रीलंकाले भने पहिलो खेलमा माल्दिभ्ससित गोलरहित बराबरी खेलेको थियो । त्यस्तै, भुटानले पहिलो खेलमा बंगलादेशमाथि १–० को सनसनीपूर्ण जित हासिल गरेको थियो ।

बंगलादेश र माल्दिभ्सले भने १–१ को बराबरी खेल्दै अंक बाँडेका थिए । दोस्रो चरणका खेलपछि नेपाल ४ अंकसहित शीर्ष स्थानमा छ । भुटान ३ अंकसहित दोस्रो स्थानमा रहँदा माल्दिभ्स र श्रीलंका समान २ अंकका साथ तेस्रो र चौंथो स्थानमा छन् । बंगलादेश १ अंकका साथ पुछारमा छ । ‘राउन्ड रोबिन लिग’का आधारमा जारी खेलका शीर्ष दुई टोली स्वर्णपदकका लागि फाइनल खेल्नेछन् ।