पदक तालिकाको शीर्ष स्थानमा नेपाल, १३ स्वर्णसहित २० पदक नेपालको खातामा

रामेछाप खबर संवाददाता

काठमाडौँ, १७ मंसिर ।

१३ औँ दक्षिण एसियाली खेलकुदको पदक तालिकामा नेपाल शीर्ष स्थानमा उक्लिएको छ । हालसम्म कुल २० पदक जित्दै नेपाल पदक तालिकाको शीर्ष स्थानमा पुगेको हो ।

पदक तालिकाअनुसार नेपालले हालसम्म कुल १३ स्वर्ण ३ रजत र ४ काश्य पदक जितेको छ । नेपालको लागि कराँतेको काताबाट ३ स्वर्ण जितेको छ । पहिलो स्वर्ण कराँते कातामा मण्डेकाजी श्रेष्ठले दिलाएका थिए ।

त्यस्तै कराँते फाइट तर्फ पनि नेपालले ४ स्वर्ण जितेको छ। कराँते फाइट ५५ केजी तौल समूह पुरुषमा लक्ष्मण तामाङले स्वर्ण जितेका छन्। त्यस्तै ८४ किलो भन्दा माथिको तौल समूहमा विप्लवलाल श्रेष्ठले स्वर्ण हात पारे।

महिला तर्फ ५५ केजी तौल समूहमा अनु अधिकारीले स्वर्ण जितिन्। त्यस्तै अर्को स्वर्ण कुसुम खड्काले हात पारिन्।

त्यस्तै तेक्वान्दो पुम्से विधाबाट नेपालले ४ स्वर्ण जितेको छ।

तेक्वान्दोबाट कमल अधिकारी र सिना मादेन लिम्बु र पार्वती गुरुङले स्वर्ण जितेका छन्। त्यस्तै व्यक्तिगत तर्फ आयशा शाक्यले तेक्वान्दो पुम्से (कला प्रदर्शनी)बाट स्वर्ण हात पारेकी छिन्। आयशाले पुम्सेकै २९ वर्षमाथिकै जोडीमा सञ्जिव कुमार ओझासँग मिलेर अर्को स्वर्ण जितेकी हुन्।

त्यस्तै ट्रायथलनको महिला तर्फपनि नेपालले स्वर्ण जितेको छ। पोखरामा भएको खेलमा सोनी गुरुङले स्वर्ण हात पारेकी हुन् ।

तालिकाको दोश्रो स्थानमा भारत रहेको छ । भारतले हालसम्म एक स्वर्ण, दुई रजत र एक काश्य गरि ४ पदक प्राप्त गरेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको एक स्वर्ण र २ रजत जितेको छ । श्रीलंका र बंगलादेशले क्रमश ४ र ३ काश्य पदक जितेको छ ।