‘मसँग हिँड, नत्र थुनिदिन्छु ।’ यो शान्ति, सुरक्षा र अमनचयन कायम गर्न खटिएका प्रहरीको धम्की हो । कानुनको रक्षा गर्न हिँडेका प्रहरी नै कानुन हातमा लिएर धम्की र बार्गेनिङमा उत्रिएपछि यौनकर्मी महिलाहरु असहाय बनिरहेका हुन्छन् । उनीहरुको स्वार्थ, अस्तित्व र हितरक्षा कसले गर्ने ?
आफूलाई धरपकड गर्ने र बेलाबेलामा दुःख दिने तथा पैसा मागेर हैरान पार्ने प्रहरीहरुले उनैलाई शारीरिक शोषण गर्न पनि पछि पर्दैनन् । उनीहरु आफ्नो ड्युटी गर्नुभन्दा पनि प्रायः यही मौका कुरेर बसिरहेका हुन्छन् । कुनै बेला यौन व्यवसाय अपनाएको भनेर रामधुलाई गर्ने ती प्रहरीहरु नै बेलाबेलामा ‘आज त राम्री भइछेस्, मसँग हिँड’ भनेर दवाव दिई लिएर यौन शोषण गर्ने गरेको प्रायः यौनकर्मीहरु बताउँछन् ।
यदि प्रहरीको यो कुरा मानिएन भने आफूहरुलाई थुनिदिने र यातना दिनुका साथै धरौटीका नाममा पैसा पनि खाइदिने गरिरहेका हुन्छन् । यौनकर्मी महिलाहरु प्रहरीहरुले नै उनीहरुमाथि अत्यधिक शोषण गर्ने गरिरहेको बताउँछन् ।
नेपाल सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालय राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले गरेको पछिल्लो अध्ययनअनुसार हाल नेपालमा झण्डै ५४ हजार २ सय ७ महिला यौनकर्मीहरु रहेका छन् । उनीहरुको जीवन गुजाराको मुख्य स्रोत नै देह व्यापार हो । तर यिनैमाथि प्रहरीले पशुवत व्यवहार गर्ने गरेको उनीहरुको गुनासो छ ।
यति मात्र होइन, उनीहरु सार्वजनिक बेइज्जत गर्न पनि पछि पर्दैनन् । यौनकर्मी महिलाहरुको धन्दा बाध्यता भएकाले उनीहरु सकभर आफ्नो त्यो पेशा र परिचय गोप्य नै राख्न चाहन्छन् । तर प्रहरीहरुले उनीहरुलाई सार्वजनिक स्थलमै उनीहरुको बेइज्जत गरिरहेका हुन्छन् ।
उनीहरुलाई अपशब्द प्रयोग गर्ने, जहाँ भेट्यो त्यहीबाट उठाएर लैजाने, जबरजस्ती यौन सम्पर्कको दवाव दिने, नभए थुन्ने, पैसा असुली गर्ने आदि गर्ने गर्दछन् । आफू बाँच्नका निम्ति र परिवारलाई बचाउनका लागि उनीहरुले अंगालेको बाध्यात्मक पेसा प्रहरीका लागि दुव्र्यबहार गर्ने र नाजायज फाइदा लिने थलो बन्न पुगेको छ ।
राजधानी सहरको रत्नपार्क, कोटेश्वर, बालाजु, कलंकी, तिलगंगा लगायतका स्थानलाई ग्राहक कुर्ने तथा भेटघाटको थलो बनाउँदै आएका महिला यौनकर्मीमाथि प्रहरीले कुरेरै नियतबस दुःख दिने गरिरहेको हुन्छ ।
प्रहरीले यतिसम्म पनि दुःख दिने गरेको छ कि बाटोमा आफन्तसँग हिँडिरहेका बेला, रेस्टुरेन्टमा खाजा खाइरहेका बेला, हस्पिटल जान लागेका बेला वा जतिबेला पायो त्यति नै बेला अपशब्द बोल्ने, काम छ एकछिन आऊ भनेर आफन्तका अघि बेइज्जत गर्ने, पक्राउ गर्ने आदि गरिरहने गरेको छ ।
उनीहरुको अनुभवमा कहिलेकाँही ग्राहकबाट हुने अभद्र व्यवहार र समस्याहरुभन्दा प्रहरीहरुबाट नियमित हुने यस्ता अभद्र व्यवहारले सधै चिन्तित गराइरहेको हुन्छ । एकातिर समाजमा हुने लोकलाज र गाल, अर्कोतिर प्रहरीको दुव्र्यवहार, काँखमा रहेका सन्तानहरुको भविष्य र आफ्नै जीवन आदिका कारण आइपरेको जीवन गुजाराको बाध्यता उनीहरुका पीडाका कारक रहने गरेका छन् ।
महिला यौनकर्मीहरुको दैनिकी निकै पीडादायी बन्ने गरेको हुन्छ । अरुको त दुःख भए पनि निश्चित जस्तो हुन्छ, तर यौनकर्मीहरुका लागि बिहान छोराछोरी स्कूलमा पठाएर ग्राहक खोज्न रत्नपार्क तिर जानुपर्छ । प्रहरी आएर ब्ल्याकमेलिङ गर्न थाल्छ, धरपकडका नाममा लाठी बर्साउँछ, लगेर थुनिदिन्छ ।
साना छोराछोरी अलपत्र पर्दछन् । एक यौनकर्मी भन्छिन्–‘मेरी साथीलाई प्रहरीले दुई हप्तासम्म हिरासतमा राख्दा उनको सानो छोरा कोठामा एक्लै पर्यो । हारगुहार गर्दा पनि छाडेन । पछि बीस हजार घुस लिएर मात्र छाड्यो । यति पीडाका साथ बाँच्नु पर्छ यौनकर्मीलाई ।’
हाल सरकारले यो समस्या समाधानका लागि केही पनि नीति तथा कार्यक्रम नै बनाएको छैन । बरु यातना र पीडामात्र दिएको छ । यदि सरकारले यसको वैकल्पिक व्यवस्था गर्ने हो भने लगभग ७० प्रतिशत यौनकर्मी महिलाहरु वैकल्पिक बाटो रोज्नका लागि तयार देखिन्छन् ।