कक्षा ९ का एक विद्यार्थीले बनाए पेट्रोलबिनै चल्ने मोटरसाइकल

रामेछाप खबर संवाददाता

बागलुङ, १० मंसिर ।

बागलुङको चिल्ड्रेन लाइफ इंलिस बोर्डिङ स्कुलमा अध्ययनरत एक विद्यार्थीले ब्याट्रीबाट चलाउन सकिने मोटरसाइकल बनाएका छन् । कक्षा ९ मा अध्ययनरत गणेश श्रेष्ठले पुरानो मोटरसाइकलका विभिन्न पार्ट जोडेर बनाएको सवारी साधनलाई ‘इलेक्ट्रिक बाइक’ नाम दिएका छन् ।

उनले ४८ भोल्टको मोटर, ४ वटा लिड एसिड ब्याट्री, एउटा १२ भोल्टको ब्याट्री, २० एम्पियरको फ्युज, १ पिस कन्ट्रोलर, १ एक्सीलेरेटर र बाइकको पुरानो फ्रेम प्रयोग गरेका छन् । लामो समयदेखि युट्यूबमा हेर्ने गरेको र अहिले अथक अभ्यासपछि पेट्रोलबिनै चलाउन सकिने इलेक्ट्रिक बाइक निर्माण गरेको उनी बताउँछन् । गत साउनदेखि सुरु गरेको इलेक्ट्रिक बाइक बनाउने काम अहिले बल्ल सकिएको उनले बताए ।

उनले निर्माण गरेको इलेक्ट्रिक बाइकको विद्यालय परिसरमा सयौं अभिभावक र विद्यार्थीका बीच गुडाएरै परीक्षण र प्रर्दशनीसमेत गरिएको थियो ।