काठमाडौं ।
पूर्व राजदूत केशवराज झाको हत्या प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीले अपराधिको नजिक पुगेको दाबी गरेको छ।
२०७५ भदौ ४ गते बबरमहलस्थित आफ्नै निवासमा सुतेको अवस्थामा पूर्व राजदूत झाको चक्कु प्रहार गरी हत्या भएको थियो । उक्त प्रकरणमा अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर, काठमाडौंले गएको साउन ३१ गते झाको घरमा सहयोगीको काम गरिरहेका सानुकान्छा तामाङलाई पछिल्लो पटक नियन्त्रणमा लिएसँगै प्रहरीले अभियुक्त नजिक पुगेको दाबी गरेको हो।
फ्रान्सका लागि राजदूत रहिसकेका झा, श्रीमती ज्ञानु र सहयोगी काभ्रेका सानुकान्छा तामाङसहित बबरमहलमा बस्दै आएका थिए। उनका छोरा र छोरी विदेशमा छन् । खाना खाएर सुतेका झा बिहान अवरेसम्म नउठेपछि श्रीमतीले उठाउन जाँदा मृत अवस्थामा फेला परेका थिए।
प्रहरीले सुरुमा हत्याको आशंकामा सानुकान्छा तामाङ, मालीको काम गर्ने आइतसिंह तामाङ र जय बहादुर गुरुङलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरे पनि पछि उनीहरु रिहा भएका थिए।
जोलीको ट्रयाकिङ
अनुसन्धानका क्रममा अभियुक्त पहिचान गर्न प्रहरीले ब्लड हाउण्ड जातको जोली नाम गरेको कुकुर परिचालन गरेको थियो । त्यसैबेला जोलीले सानुकान्छा तमाङतर्फ संकेत गरेपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान थालेको थियो।
०७४ जेठ पहिलो साता बेलारुसबाट ल्याइएको ब्लड हाउण्ड जातको यो पोथी कुकुर अभियुक्त पहिचान गर्नमा बढी विश्वसनीय मानिन्छ। प्रहरीका अनुसार अमेरीकाको संघीय अदालतले घ्राण शक्ति बढि भएको यो जातको कुकुरले गरेको पहिचानलाईं बलियो प्रमाण मान्छ।
जटिल प्रकारका घटनाको अनुसन्धान गर्नुपर्ने अवस्था आएमा नेपाल प्रहरीले पनि यो कुकुरलाई प्रयोग गर्छ। अनुसन्धानमा खटिएका एक उच्च अधिकारी भन्छन् “अहिलेसम्मको अनुसन्धानले हामी अपराधीको नजिक पुगिसकेका छौं।”
हिरासतमा रहेका सानुकान्छाले पटक पटक आफ्नो वयान फेर्दै आएको र पोलिग्राफ टेस्टबाट उनी झुटो बोलेको प्रमाणित भएको प्रहरीको भनाई छ।
गत वर्ष भदौ ४ गते घटनालगत्तै पक्राउ परेका सानुकान्छाले २६ दिनको हिरासतबाट निस्केपछि प्रहरीले आफूलाई चरम यातना दिई जबरजस्ती हत्यारा प्रमाणित गर्न खोजेको बताएका थिए । उनले यससम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगमा समेत उजुरी दिएका थिए । दोस्रो पटक उनी गत साउन ३१ गते काभ्रेबाट पुन: पक्राउ परेका थिए। तामाङविरुद्ध हत्या गरिएका झाकी श्रीमती ज्ञानु झाले किटानी जाहेरी दिएपछि अपराध महाशाखाले उनलाई नियन्त्रणमा लिई प्रहरी परिसर काठमाडौंलाई बुझाएको थियो।
नेपाल समयसँग कुरा गर्दै महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी उत्तम सुवेदीले भने, “पक्राउ परेका अभियुक्तमाथि विस्तृत अनुसन्धान भैरहेको छ, यो अनुसन्धान चाँडै परिणामुखी हुने अपेक्षा गरेका छौं ।”
लेनदेनको विवाद
प्रहरीले घटनास्थलबाट बरामद गरेको झाले प्रयोग गर्ने डायरीबाट उनले सानुकान्छालाई रु. ५० हजार सापटी दिएको देखिएको छ । तर, सानुकान्छाले प्रहरीलाई दिएको बयानमा आफूले काम गरेवापत पाउनुपर्ने एकलाख ६० हजार रुपैयाँमा सापटी लिएको ५० हजार घटाएर आफूले रु.१ लाख १० हजार पाउन बाँकी रहेको बताएका थिए।
काम गरेको रकम माग्दा सानुकान्छा र झा बीच पटक पटक विवाद भएको अनुसन्धानबाट खुलेको छ । सानुकान्छाका अनुसार झाले उनलाई पारिश्रमिक वापतको रकम दिन आलटाल गर्दै आएका थिए ।
दोस्रो पटक पक्राउ परेका सानुकान्छामाथि प्रहरीले दोस्रो पटक पोलिग्राफ टेष्ट गरेको छ । प्रहरीका अनुसार दोस्रो टेष्टमा सानु कान्छाले स्पष्ट जवाफ दिएका छैनन्।
प्रहरीले झा हत्या भएको स्थानबाट फेला पारेको चक्कु, कम्पाउण्डमा फेला परेको पञ्जा र सानुकान्छाको कोठबाट बरामद गरिएको फोनको फरेन्सिक परीक्षण पनि गरेको छ ।
पूर्व राजदूत झाका छोरा किरणराज परिवारसहित विदेशमा बस्दै आएका छन् भने छोरी डाक्टर राजश्री विश्व खाद्य संगठनमा विदेशमै कार्यरत छिन्।
सुरुमा निर्दोष व्यक्ति नफसुन भनेर झाको हत्यामा उनका परिवारले कसैविरुद्ध किटानी जाहेरी नदिएको झाका भतिजा दीलिपकुमार बताउँछन्। तर, प्रहरी अनुसन्धान र आफ्नै सोधखोजबाट पनि सानुकान्छा तर्फ आशंका बढेपछि ज्ञानु झाले उनीविरुद्ध किटानी जाहेरी दिएकी हुन्।