नेपालको नक्सा सदाको लागि अन्त हुदा

रामेछाप खबर संवाददाता

डा.कल्याण ।

भारत र चीन दुवैले (मिलेर साच्चैनै) चाहे भने नेपालको नक्सा सदाको लागि अन्त गरिदिन सक्छन। राष्ट्रसंगले चिन्ता व्यक्त गर्न बाहेक अरु केहि गर्न सक्दैन। हाम्रो देशको सिमा जोगाउन भनेर पैसा र ज्यान फालेर युद्ध गर्न (अहिलेको मितिसम्म) कुनै देश आउने देख्दिन। हामीसंग त्यस्तो अन्तिम अश्त्र नै छैन। भारतले सुस्त अतिक्रमण गरिरहँदा चीनले चुप लागिदिए पनि पुग्छ । अहिले भारतले यस्तो आँट झट्टै गर्न सक्दैन किनकि यस्ता घटना अन्तराष्ट्रियकरण भैदिन्छ र भारतको बेइजत हुन्छ। तर यदि भारत पानीको कारण वा अन्य कारण desperate भएर चीनसंग छुट्टै भित्रि सम्झौता गरेर नेपालको श्रोत र भूभागमा जबर्जस्ति गर्न थाल्यो भने हामीले केहि गर्न सक्दैनौं। हाम्रो उपाय नै छैन।

कि छ? म एउटा उपाय/तर्क पेश गर्छु। अमेरिकामा कुनै पनि चुनाबमा (राष्ट्रपतिको चुनावमा) इजरायललाई आर्थिक र सुरक्षा सहयोग गर्दिन भन्ने पार्टीले कहिल्यै चुनाव जित्न सक्दैन। त्यसको कारणहरु मध्य एउटा कारण हो गत ५०-६० बर्षमा अमेरिकामा बसेका ४-५ पुस्ता इजरायली संग इजरायलले राखेको आत्मीय सम्बन्ध। अमेरिकामा बसेका इजरायलीहरु अमेरिकाको ठुला media, politics र धेरै सरकारी संयन्त्रमा पहिले देखि नै छन्। उनीहरु धार्मिक र सांस्कृतिक रुपमा इज़राइल संग जोडिएर बसेका छन् र जसमा इज़राइल सरकारले गत ५०-६० बर्ष नियमित निरन्तर मेहेनत गरिरहेको छ।

यस्तै आत्मीय महसुस हुने सम्बन्ध नेपाल सरकारले बिदेशमा जन्मिएका नेपालीका बालबालिकासंग गर्नु पर्छ। नेपालबाट गएका नेपाली (पहिलो पुस्ता) पश्चिमा देशका सरकारी, राजनैतिक र ठूला international company का ठूला पदहरुमा पुगिसकेका छन। दोश्रो र तेश्रो पुस्ताका अझ धेरै नेपाली झन् माथिल्लो पदहरुमा अवश्य पुग्नेछन्। उनीहरुलाई सारा नेपाली जनताको प्रतिनिधित्व गरेर नेपाल सरकारले निरन्तर सम्बन्ध गास्नु पर्छ। अहिलेसम्म उनीहरुलाई स-सानो नेपाली समूहले भाषा सिकाउने, नेपाली पर्व र संस्कृति सिकाउने काम भएको छ। यतिले मात्र पुग्दैन। नेपाल सरकारले नियमित यति धेरै मेहेनत गर्नुपर्छ कि नेपालको अर्थ र सिमा सुरक्षा खतरामा पुग्दा बिदेशमा जन्मेका नेपालीले आँफुलाई खतरा पुगेको पिडा भएको महसुस हुने बनाउनु पर्छ। यसको लागि केहि दशक लाग्छ, धेरै बहस गर्नु पर्छ, धेरै तरिकाहरु खोज्नु पर्छ, असल नियत राख्नु पर्छ। नेपालले यस्तो अहिलेसम्म सुरु गरेको छैन।

मेरो आवाज सरकारसम्म त पुग्दैन होला तर तपाईं युवाहरु मध्य कोहि भोलि नेपाल सरकारको निर्णय लिने माथिल्लो ओहोदामा पुग्नुहुन्छ होला। मैले तपाईंलाई बुझाउन मेहेनत गरेको मात्र हुँ। नेपालको नक्सा सदाको लागि अन्त हुने स्थिति सुरु हुँदा मैले माथि भनेको कुरा सुरु गरेर हुँदैन। ढिलो भैसक्छ।